
चितवन,पुस १८-
जिल्लामा पशुपालक किसानका दुई हजार सात सय ४२ बङ्गुर अफ्रिकन स्वाइन फिवरका कारण मरेका छन् । यसबाट रु पाँच करोड ८९ लाख ८५ हजारको क्षति भएको छ । यहाँका नौ वटा कृषि फर्ममा रहेका बङ्गुर मरेका हुन । रोगले एक सय ८७ वटा बङ्गुर अझै बिरामी छन् ।
भेटेरिनरी अस्पताल तथा पशु सेवा केन्द्र भरतपुरका सूचना अधिकारी डा प्रभात न्यौपानेका अनुसार एक हजार आठ सय ११ वयस्क र नौ सय ३१ पाठापाठी बङ्गुर छन् । यस्तै बिरामी परेकामध्ये एक सय २८ वयस्क र ५९ पाठापाठी रहेको कार्यालयले जनाएको छ ।
यो रोग लागेका बङ्गुर एकै ठाउँमा थुप्रिएर बस्ने, शरीरमा निला डाम देखा पर्ने, कानका टुप्पामा रगत जमेका धब्बा देखिने, नाकबाट फिँज निकाल्ने, रोग सङ्क्रमित सुङ्गुर बङ्गुरलाई उच्च ज्वरो (१०४ देखि १०७ डिग्री फरेनहाइट)आउने, कान, पुच्छर, पेटको तल्लो भागको बाहिरी छाला रातो हुने, झोक्राउने र दानापानी खान छोड्ने, बान्ता गर्ने, छटपटाउने, चाल धरमराउने, बच्चा तुहिने जस्ता लक्षण देखा पर्ने केन्द्रले जनाएको छ ।
यो रोगबाट बच्न बङ्गुरपालन गर्दा खोरमा थुनेर पाल्ने, बङ्गुरको खोरमा अनावश्यक मानिसको आवतजावत रोक्ने, बङ्गुर फार्ममा जैविक सुरक्षाविधि अवलम्बन गर्ने जस्ता उपाय अपनाउनुपर्ने कार्यालयले जनाएको छ । बाहिरको बथानबाट नयाँ बङ्गुर ल्याएमा सिधैँ फार्ममा रहेका बङ्गुरसँग नमिसाई २१ दिन क्वारेन्टाइनमा राख्ने र रोग नदेखिएपछि मात्र बथानमा मिसाउने, बङ्गुरको खोर फार्म र फार्म वरिपरी नियमित सरसफाइ गरी चुना, फिनेल, फर्मालिन, ब्लिचिङ पाउडर आदिले निःसङ्क्रमण गर्ने, रोग लागेका बङ्गुरलाई बथानबाट छुट्याएर अलग राख्ने जस्ता कार्य गर्दा क्षति कम हुने न्यौपानेको भनाइ छ । रासस