रत्ननगर – पूर्वीचितवन कृषि सहकारी संस्था लिमिटेडको तेस्रो साधारण सभा शनिबार रत्ननगर–१३, जयमंगलास्थित राममन्दिरमा सम्पन्न भएको छ ।
संस्थाका अध्यक्ष केशवप्रसाद अर्यालको अध्यक्षता एवं रत्ननगर–१३ का वडाध्यक्ष टोपबहादुर घिमिरे सुवासको प्रमुख आतिथ्यतामा सम्पन्न सभामा वडाध्यक्ष घिमिरेले किसानलाई हेर्ने राज्यको दृष्टिकोण परिवर्तन हुनुपर्ने बताए । किसानले कृषि उत्पादनबाट प्रतिफल लिन नसकेको अवस्थामा राज्यले उचित वातावरण सिर्जना गरिदिनुपर्ने उनको भनाइ थियो । कृषिमार्फत समाजमा उदाहरणीय काम गर्ने कृषकलाई सम्मान गर्न उनले संस्थालाई सुझाव दिए ।
सभामा अध्यक्ष अर्यालले विपन्न समुदायको आर्थिक, सामाजिक र सांस्कृतिक रुपान्तरण गर्ने उद्देश्यले स्थापना भएको संस्थाले कोरोनाका कारण मुनाफा आर्जन गर्न नसकेको बताए । दोस्रो वर्ष घाटा पूर्ति गरेको संस्थाले अर्को वर्षदेखि शेयर सदस्यहरुलाई मुनाफा वितरण गर्ने .लक्ष्य रहेको उनले बताए ।
कार्यक्रममा सुमन उप्रेती, लेखा परीक्षक लवप्रसाद सुवेदी तेज प्रसाद बन्जारा लगायतले शुभकामना मन्तव्य व्यक्त राखेका थिए । कार्यक्रममा असल बचतकर्ता रिता रानाभाट, असल ऋणी कृष्णबहादुर भट्ट, कर्मचारी इच्छा कार्कीलगायतलाई सम्मान गरिएको थियो ।
लेखा समिति संयोजक अर्जुनप्रसाद अर्यालले सहकारीको मर्म र सामूहिक भावनाअनुसार संस्था अगाडि बढिरहेको बताए । संस्थामा १७ सय ७८ सदस्य रहेको उनले जानकारी दिए । शेयर सदस्यहरुलाई पाँच लाखदेखि धितोमा २० लाख रुपैयाँसम्म ऋण लगानी गर्दै आएको उनले जानकारी दिए ।

प्रतिक्रिया

सम्बन्धित खवर