राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) भित्र विवाद बढ्न थालेको छ । अध्यक्ष राजेन्द्र लिङ्देन र वरिष्ठ नेताहरूबीच सम्बन्ध चिसिन थालेको छ । पार्टीभित्रको विवादले लिङ्देनमाथि दबाब बढाउने र अन्तिममा विशेष महाधिवेशन बोलाउनेसम्मको स्थिति आउन सक्ने देखिएको छ ।

राप्रपा स्रोतका अनुसार पूर्वअध्यक्ष पशुपति शमशेर राणासहित नेताहरू ध्रुवबहादुर प्रधान, बुद्धिमान तामाङ, जगत गौचनलगायत अध्यक्ष लिङ्देनप्रति असन्तुष्ट देखिएका हुन् ।

अध्यक्ष लिङ्देनका कार्यशैली र सांगठिनक संरचना निर्माणप्रति उनीहरू असन्तुष्ट भएका हुन् । पूर्वअध्यक्ष पशुपतिशमशेर राणा अहिले भारतको नयाँ दिल्लीमा रहेका कारण विवाद तत्काल साम्य भएको हो । २२ दिनका लागि दिल्ली गएका उनी एक सातापछि फर्किने बताइएको छ ।

राणा फर्केपछि राप्रपाभित्रको विवाद थप चर्किने सम्भावना रहेको राप्रपाका एक नेताले बताए । र, राप्रपाभित्रको विवादले विशेष महाधिवशेनको माग हुन सक्नेसमेत बताए । ‘अध्यक्ष लिङ्देनले मौका पाएका थिए, उक्त मौकालाई सदुपयोग नगरेर व्यक्तिगत हिसाबमा चल्न थालेपछि हामी विशेष महाधिवेशनको मागसम्म पुग्ने स्थिति देखिएको छ ।’ ती नेताले बताए ।

ती नेताका अनुसार राणासहितका नेताहरू स्थानीय चुनावअघिदेखि नै लिङ्देनसँग असन्तुष्ट भएपछि चुनावमा ‘लिङ्देनको पपुलारिटी’लाई परीक्षण गर्नका लागि चुप लागेका थिए । स्थानीय चुनावमा लिङ्देन पपुलारिटीको चर्चा भए पनि त्यसअनुसार भोट नबढेको राप्रपाभित्र चर्चा हुने गरेको छ । पहिला नेपालगञ्जजस्तो उपमहानगरपालिका जितेको भए पनि अहिले त्यस्तो महत्त्वपूर्ण पालिका जित्न नसकेको दाबी असन्तुष्ट पक्षको छ ।

त्यसैगरी, बुद्धिमान तामाङको प्रभाव क्षेत्र मानिएको धादिङको रुबिभ्याली गाउँपालिका राप्रपाले गुमाएको छ । उक्त पालिका अहिले माओवादी केन्द्रले जितेको छ । राप्रपाले पहिला पाँचवटा नगरपालिका जितेको अहिले तीनवटा मात्रै जितेको छ । पहिलाको एउटा उपमहानगरपालिकासमेत गुमाउनुपरेको भन्दै ती नेताले भने अघिल्लो स्थानीय चुनावमा सातवटा उपमेयर जितेकोमा अहिले तीनवटा मात्रै जितेको उल्लेख गरे ।

त्यसैगरी अघिल्लो चुनावमा करिब ३ लाख मत आएकोमा अहिले केही बढेर साढे ३ लाखजति मात्रै आएको राप्रपाभित्र विश्लेषण भइरहेको छ । योपटक राप्रपाको उपलब्धि भनेको काठमाडौंको शंकरापुर नगरपालिका जित्नु हो । त्यसबाहेक राप्रपाले पुरानो मत बढाउन नसकेको टिप्पणी राप्रपाभित्र भइरहेको छ । महाधिवेशनमा लिङ्देनलाई पूर्वअध्यक्ष प्रकाशचन्द्र लोहनीले सबैभन्दा बढी साथ दिएका थिए ।

अध्यक्ष लिङ्देनसँग अहिले लोहनी पनि असन्तुष्ट देखिएका छन् । तर, उनी राणा समूहजस्तो चर्को रूपमा भने नदेखिएको राप्रपा स्रोतको दाबी छ ।

प्रतिक्रिया

सम्बन्धित खवर