काठमाडौँ, पुस १० । नेपालको महिला टोलीले एसियन सिनियर सेन्ट्रल जोन पुरुष तथा महिला भलिबल च्यालेन्ज कपमा लगातार तेस्रो जित निकालेको छ ।

ढाकामा शनिबार आयोजक बंगलादेशलाई ३-० को सोझो सेटमा हराउँदै नेपालले लगातार तेस्रो जित निकालेको हो ।

तुलनात्मक कमजोर टिम बंगलादेशमाथि नेपालले २५-५, २५-१५ र २५-१७ को सेटमा जित निकालेको हो ।

यस जितसँगै नेपाल फाइनल नजिक पुगेको छ ।

अब नेपालले आइतबार उज्वेकिस्तानको सामना गर्नेछ ।

यस अघि नेपालले पहिलो खेलमा श्रीलंकालाई ३-२ सेटमा हराएको थियो । यस्तै दोस्रो खेलमा नेपालले माल्दिभ्सलाई ३-० को सेटमा हराएको थियो ।

साविक विजेता समेत रहेको नेपालले ३ खेलमा ८ अंक जोडेको छ । नेपाल शीर्ष स्थानमा उक्लिएको छ । बंगलादेशले खाता खोल्न सकेको छैन ।

नेपालको पुरुष टोलीले आज श्रीलंकासँग प्रतिस्पर्धा गर्नेछ ।

नेपाल र श्रीलंकाबीचको खेल दिउसो ५:४५ बजे सुरु हुनेछ ।

नेपाल दोस्रो जितको खोजीमा हुनेछ । पहिलो खेलमा नेपाल बंगलादेशसँग ३-० को सेटमा पराजित भएको थियो। तर, दोस्रो खेलमा उज्वेकिस्तानलाई ३-१ को सेटमा हराएको थियो ।

प्रतियोगितामा पुरुषतर्फ ५ र महिलातर्फ ६ राष्ट्रको सहभागिता रहेको छ  ।

पुरुषमा आयोजक बंगलादेश, नेपाल, माल्दिभ्स, श्रीलंका र उज्वेकिस्तानले प्रतिस्पर्धा गर्नेछन् ।

महिलामा आयोजक  बंगलादेश, नेपाल, किर्गिस्तान, माल्दिभ्स, श्रीलंका र उज्वेकिस्तानले प्रतिस्पर्धा गर्नेछन् ।

राउण्ड रोबिनको आधारमा हुने प्रतियोगिताको शीर्ष दुई टोलीले फाइनलमा प्रतिस्पर्धा गर्नेछ ।

यस्तै तेस्रो र चौंथो टोलीले तेस्रो स्थानको लागि प्रतिस्पर्धा गर्नेछ ।

प्रतिक्रिया

सम्बन्धित खवर